काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ : चैत कृष्ण औँसीका दिन आज आइतबार काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइदैछ। टुँडिखेलमा नेपाली सेनाले र ललितपुरको पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ।
नेपाली सेनाले जात्राको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ। घोडेजात्राको अवसरमा दिउँसो ३ बजे हुने टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्दैछ।
नेपाली सेनाले हरे वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा गत वर्ष भने कोरोना महामारीका कारण स्थगित गरेको थियो।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरहेको जनविश्वास छ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
जात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ।
चैत २९, २०७७ आइतबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।