एमालेले सरकारलाई दिएको समर्थन फिर्ताबारे कर्णाली प्रदेश प्रमुखले गरे मुख्यमन्त्रीकाे ध्यानाकर्षण

एमालेले सरकारलाई दिएको समर्थन फिर्ताबारे कर्णाली प्रदेश प्रमुखले गरे मुख्यमन्त्रीकाे ध्यानाकर्षण

सुर्खेत : कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ध्यानाकर्षण गराएका छन्। 

प्रदेश प्रमुखकोे कार्यालयले आज (मंगलबार) मुख्यमन्त्री शाहीलाई संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको पत्र पठाएको जनाएको छ। 

एमाले कर्णाली प्रदेश संसदीय दलले यही चैत ४ गते सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो। त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीको सरकारलाई समर्थन फिर्ताबारे जानकारी दिएको थियो। 

पत्रमा भनिएको छ, ‘संविधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। यसरी राखिएको विश्वासको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित भएमा विद्यमान मुख्यमन्त्रीको नै निरन्तरता हुने र यदि उक्त विश्वासको प्रस्ताव पारित हुन नसकेमा विद्यमान मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने गर्छन् र सरकार गठनको थप प्रक्रिया सुरु हुने गर्छ।’ 
 

चैत १७, २०७७ मंगलबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।