देशभरका शिक्षण संस्था भोलिदेखि चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

देशभरका शिक्षण संस्था भोलिदेखि चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं : देशभरका शिक्षण संस्था भोलि (मंगलबार)देखि चार दिनसम्म बन्द गरिने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालका अनुसार बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपर्ने बाध्यता आएको बताएका थिए।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तुवाँलोका कारण गत शुक्रबारबाट देशभरको वायुप्रदूषण भएको छ। जसका कारण बाहिर हिँडडुल गर्न समस्या भइरहेको सर्वसाधारणले जनाएका छन्। 

मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे परामर्श गरेर निर्णय लिएको प्रेस सल्लाहकार ढकालले जानकारी दिए।

प्रधानमन्त्रीसँग परामर्शलगत्तै मन्त्रालयमा  बसेको बैठकले विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताको कारण देखाउँदै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो। 

बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो। 

बैठक शिक्षामन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको ढकालले जानकारी दिए। 

चैत १६, २०७७ सोमबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।