संसदीय दलको बैठकमा जाने सल्लाह भएको छ : एमाले सांसद पाण्डे 

संसदीय दलको बैठकमा  जाने सल्लाह भएको छ : एमाले सांसद पाण्डे 
फाइल तस्विर

काठमाडौँ : नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो।

बैठकमा विकास निर्माणको काम, पार्टीभित्रको विवाद र चालु संसद अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

बैठकमा उपस्थित हुन पार्टीका सबै सांसदलाई बोलाइएको सचेतक भट्टराईले बताए। संसदीय दलको बैठक अगाडी नै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। 

बिहान ११ बजे भेला बोलाएर खनाल-नेपाल समूहले छलफल गर्न लागेको हो। छलफलपछि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा जाने नजाने टुङ्गो लगाउने नेताहरूले बताएका छन्। 

खनाल नेपाल पक्षका नेता एवं सांसद सुरेन्द्र पाण्डेले दलको बैठकमा जाने सल्लाह भएको बताए। ‘संसदीय दलको बैठकमा जाने सल्लाह भएको छ,’ उनले भने। 

यसअघि ओलीले बोलाएको बैठकमा खनाल-नेपाल समूहका सांसद सहभागी भएका थिएनन्। विधान अनुसार बैठक राख्नु पर्ने, पार्टीलाई २०७५ जेठ २ गतेकै संरचनामा सञ्चालन गर्नु पर्ने, फागुन २८ गतेको निर्णय फिर्ता हुनुपर्ने माग खनाल नेपाल समूहले दलका नेता ओलीलाई बुझाएको थियो। 

प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने प्रकृतिका विधान विपरीतका कामबारे स्पष्ट गर्न जबाफ माग्दै नेपाल सहित चार जना एमालेका नेताले आफूलाई सोधिएको स्पष्टीकरणको पत्र बुझाएका छन्। 

चैत १३, २०७७ शुक्रबार ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।