पत्रकार महासङ्घको मनोनयन मिति सर्यो, निर्वाचन २५ गते नै
काठमाडौँ : नेपाल पत्रकार महासङ्घमा सदस्यता विवाद लम्बिँदा केन्द्रको उम्मेदवारी मनोनयनको मिति सरेको छ। निर्वाचन समितिले यस अगाडि चैत १२ गते केन्द्रको मनोनयनको निर्वाचन कार्यपालिका सार्वजनिक गरेको थियो। शुक्रवार बेलुका नयाँ कार्यपालिका सार्वजनिक गर्दै मनोनयनको मिति १४ गते पूर्याएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ निर्वाचन कार्यपालिका अनुसार चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, १४ गते १०ः३० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। चैत १७ गते एक बजेसम्म उम्मेदवारीमा दाबी विरोध, ३ बजेसम्म नाम फिर्ता, ६ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यपालिका सार्वजनिक भएको छ।
चैत २५ गते मतदान हुने मिति भने फेरबदल भएको छैन। चैत २५ गते ९ बजेदेखि पाँच बजेसम्म र त्यसपछि मतगणनाको कार्यपालिका सार्वजनिक भएको छ।
३० बढी जिल्लामा विवाद
महासङ्घका ३० भन्दा बढी जिल्लाका सदस्यता सम्बन्धी विवाद सुल्झन सकेको छैन। महासङ्घको केन्द्रमा मतादाता नामावलीबारे दाबी विरोध बढेपछि कार्यपालिका फेरबदल भएको हो।
निर्वाचन समितिले पटक–पटक कार्यपालिका फेरबदल गरेपछि नेपाल पत्रकार महासङ्घका पूर्व सभापति र पदाधिकारीहरू सहित विभिन्न सङ्गठनका पदाधिकारीहरूले संयुक्त विज्ञप्ति निकाल्दै समयमै महासङ्घको निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्।
चैत १२, २०७७ बिहीबार २३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।