रेसम चौधरीलाई छाड्ने मागकर्ता अगाडि पलेटी कसे गृहमन्त्रीले
काठमाडौँ : जनता समाजवादी पार्टीका निलम्बित सांसद रेसम चौधरी सहितको मुद्दा फिर्ताको माग गर्दै माइतीघर मण्डलामा भइरहेको धर्नामा गृहमन्त्री रामबहादुर थापा बादल आफैँ पुगेर उनीहरूको रिहाइको लागि वार्ता टोली गठन गर्ने वचन दिएर फर्किएका छन्।
उनी बिहीबार वार्ता स्थलमा पुगेर सडकमा पलेटी मारेर बसेका थिए। उनले आफू सरकारको प्रतिनिधिको रूपमा आएको बताउँदै धर्नामा बसेकाहरूले राखेको १९ बुँदे मागप्रति सरकार गम्भीर रहेको आश्वासन दिएका थिए।
‘सरकार समस्या सकेसम्म छिटो समाधान गर्ने पक्षमा छ,’ उनले भने‘ चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक छ।’
थरुहट, थारु कार्यकारिणी सभा, र थारुवान संयुक्त सङ्घर्ष समिति लगायतका संस्था चौधरीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शनमा सहभागी छन्।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको विरोध प्रदर्शन हिंसात्मक भएपछि प्रदर्शनकारीको आक्रमणमा तत्कालीन एक एसपी सहित ८ जना मारिएका थिए। अदालतले सो घटनाको मुख्य योजनाकारको रूपमा चौधरीलाई जन्मकैद सुनाइसकेको छ।
चैत १२, २०७७ बिहीबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।