पदमा हुँदा काम नगर्नेले रिटायर्ड भएपछि ठुला कुरा गर्छन् : मन्त्री अर्याल  

पदमा हुँदा काम नगर्नेले रिटायर्ड भएपछि ठुला कुरा गर्छन् : मन्त्री अर्याल  

काठमाडौँ : सरकारले पशुपक्षीजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गरेको छ। उसले विहीबार दूध, अण्डा र मासुजन्य उत्पादनमा देश आत्मनिर्भर भएको घोषणा गरेको हो।

ललितपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरे। 

कार्यक्रममा प्रधानमन्त्री दुरुपयोग हुने अनुदान दिन नहुने बताए। उनले देश कृषि प्रधान नभई आयात प्रधान भएको बताए। कृषिमा आधुनिकीकरण गरेर निर्यात प्रधान बनाउनु पर्ने उनको भनाई छ। 

कार्यक्रममा कृषि मन्त्री पद्मा अर्यालले कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको बताइन। उनले स्थिर सरकार भए मात्र कृषि क्षेत्र राम्रो हुने बताइन। 

उनले ६ वर्षमा आत्मनिर्भर मात्रै नभई कृषिजन्य पदार्थ निर्यात गर्ने योजना बनाइरहेको दाबी समेत गरिन्। एकीकृत कृषि शिक्षा योजना ल्याउने मन्त्री अर्यालको भनाई छ। कृषि क्षेत्रमा अथाह सम्भावना भए पनि लगानी गर्न नसकिएको बताउँदै उनले कृषिमा वैदेशिक लगानी गरेर २५ प्रतिशत नेपाली बजारमा बेच्न पाउने गरी योजना बनाइरहेको उनले बताइन। 

उनले कर्मचारीलाई जागिरे मनस्थितिबाट माथि उठ्न आग्रह गरिन्। ‘कर्मचारी जागिरे मात्रै बन्नु गम्भीर प्रश्न हो,’ उनले भनिन्,‘कतिपय कर्मचारी पदमा हुँदा गर्न नसक्ने अनि रिटायर्ड भएपछि ठुला कुरा गर्छन्।’ 

चैत १२, २०७७ बिहीबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।