कलेजोको सफल प्रत्यारोपण गराउँदा खुसी छौ : डा. पौडेल
काठमाडौँ : ५३ बर्षिया धनकुमारी लामामा सफल कलेजो प्रत्यारोपण भएको छ। चितवनको चितवन मेडिकल कलेजले लामामा कलेजोको सफल प्रत्यारोपण गरेको हो।
लामालाई छोरी ३४ बर्षिया उषा लामाले कलेजो दान गरेकी छन्।
धनकुमारीको बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन उषालाई शरीरमा असर नपर्ने गरी आवश्यक कलेजो निकाले प्रत्यारोपण गरिएको डा. सागर पौडेलले बताए। प्रत्यारोपण शनिवार सुरु गरेर आइतबार सकिएको डा.पौडेलले जानकारी दिए।
‘प्रत्यारोपण गर्न १२ देखि १४ घण्टा लाग्यो,’ उनले उकेरासँग भने, ‘३० जनाको टिम संलग्न थियौ।’ चार जना नेपाली र २ जना भारतको अपोलो अस्पतालबाट आएका डाक्टरको टोली मुख्य रूपमा खटिएको उनले बताए।
शल्यक्रिया गर्ने टोलीमा डा. पौडेलसँगै डा. सञ्जय यादव, एकानन्द साह, किरण अधिकारी र भारतको अपोलो अस्पतालका डा. नीरज गोयल र अरुण सहभागी थिए। गोयल अपोलो अस्पतालका कलेजो प्रत्यारोपण इन्चार्ज हुन्।
कलेजले एक वर्षदेखि कलेजो प्रत्यारोपणको तयारी गरेको जनाएको छ। ‘डा. हरिसचन्द्र न्यौपानेको पहलमा एक वर्ष देखि तयारी थियो,’ उनले भने, ‘काठमाडौँ बाहिरको अस्पतालमा पहिलो संवेदनशील र जटिल शल्यक्रिया गर्न सफल भयौ।’
कलेजो लिने र दिने दुवैको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको उनले बताए। कलेजो दिने उषा अलिअलि हिँड्न थाल्नु भएको छ, उनले भने, ‘धनकुमारी हाँस्ने बोल्ने गर्न थाल्नु भएको छ।’
निको हुन लिनेलाई १० देखि १४ दिन र दिनेलाई हप्ता दिन लाग्ने डा. पौडेलले बताए। उनले भने,‘कलेजोको सफल प्रत्यारोपण गर्न पाउँदा हामी खुसी छौ।’
चैत १२, २०७७ बिहीबार १२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।