उपत्यकाका तीनवटै प्रशासन कार्यालयको आग्रह– भीडभाड नगर्नुस्, मास्क लगाउनुस्
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सजग रहन सबैलाई आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले छुट्टाछुट्टै सूचना निकालेर यस्तो आग्रह गरेका हुन्।
काठमाडौं प्रशासनले सम्भाव्य जोखिम न्यूनीकरणका लागि सार्वजनिक स्थलमा भीडभाड नगर्न, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न, होलीलाई आफ्नो घरभित्र नै सीमित रहेर मनाउन आग्रह गरेको छ। भक्तपुर प्रशासनले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रम नगर्न निर्देशन दिएको छ ।
यता ललितपुर प्रशासनले भने राति ११ बजेदेखि रात्रिकालीन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ। संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्देशन दिएको छ।
त्यस्तै, सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्यरूपमा मास्क, स्यानिटाइजर र सामाजिक तथा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ।
प्रशासनले सार्वजनिक स्थानमा आवतजावतका क्रममा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगरे ‘संक्रामक रोग ऐन, २०२०’ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
चैत ११, २०७७ बुधबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।