गृहले माग्यो देशभरको आइसोलेसन र क्वारेन्टिनको अपडेट
काठमाडौं : गृह मन्त्रालयले देशभरका आइसोलेसन र क्वारेन्टिनको अवस्थाबारे जानकारी मागेको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्न सक्ने संकेत देखिएको भन्दै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर त्यहाँको आइसोलेसन र क्वारेन्टिन अवस्थाबारे जानकारी मागेको हो।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना संक्रमण बढे आइसोलेसन र क्वारेन्टिन आवश्यक पर्न सक्ने भएकाले त्यसको अवस्थाबारे जानकारी मागिएको बताए। ‘हामीले चार दिनअघि नै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै आइसोलेसन र क्वारेन्टिनको अवस्था अपडेट गर्न भनेका हौं,’ उनले भने।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै आएको छ। केही दिनअघि स्वास्थ्य मन्त्रालयले सूचना निकालेर सजगता अपनाउन आग्रह गरिसकेको छ।
चैत ११, २०७७ बुधबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।