कैलाली दुर्घटना : राजमार्ग तनावग्रस्त, प्रहरीको गोली लागेका दुई घाइतेलाई काठमाडौं लगियो
लम्कीचुहा नगरपालिका, लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो।
ठक्कर दिने बस र चालक बर्दगोरिया गाउँपालिका– १ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरू लम्कीमा रोकिएका छन्।
घाइते दुई जनालाई काठमाडौँ रेफर
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ।
प्रहरीको गोली लागेर घाइते भएका २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेल लाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
दुवै जनालाई नेपालगन्जबाट काठमाडौँ रेफर गरिएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।
मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्की चुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्कीमा स्थानीयले प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन्। ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
चैत १०, २०७७ मंगलबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।