ओलीको कथित कारबाहीबाट नडराउने माधव नेपालको चेतावनी

ओलीको कथित कारबाहीबाट नडराउने माधव नेपालको चेतावनी

काठमाडौं : नेकपा एमाले खनाल-नेपाल पक्षका नेता माधवकुमार नेपालले केपी ओलीको कथित कारबाहीबाट आफूहरु नडराउने चेतावनी दिएका छन्।

मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीले आफूलाई मन नपरेका व्यक्तिलाई टाङमुनि छिराउने दुष्प्रयास गरेको आरोप लगाए। उनले भने, 'के हामी केपीको टाङमुनि छिर्ने हो? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन।'

आफूहरु ओलीको कारबाहीको धम्कीले नतर्सिएको समेत उनले बताए। 'उनको धम्कीबाट हामी किमार्थ तर्सेका छैनौं। हामी उनको कथित कारबाहीबाट डराउँदैनौं,' उनले भने।

ओलीले कम्युनिस्ट पार्टीलाई विसर्जनतिर लान खोजेको आरोप पनि नेपालले लगाए। उनले भने, 'कम्युनिष्ट पार्टी त प्रजातान्त्रिक पो हुनुपर्छ। अोलीले दासहरु मात्रै राखेका छन्। उनले हिटलर प्रवृत्ति देखाएका छन्।'

ओलीले आफूलाई कम्युनिष्ट भन्न नचाहेरै बा भनाउन थालेको पनि नेपालले बताए। उनले भने, 'उनको आन्द्राभुँडी मलाई थाहा छ। यिनको हठले एक दिन कम्युनिष्ट नै सिध्याउँछ।'

केपी ओलीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको र आफूहरुमा संगठनवादी प्रवृत्ति भन्दै नेता नेपालले सबै युवा विद्यार्थीलाई संगठनमा लाग्न निर्देशन समेत दिए।

'हामी पार्टी फुटाउँदैनौं। कुनै काममा सफल हुन इमान्दारिता चाहिन्छ। तपाइँहरु काममा चुर्लुम्म डुब्नुहोस्,' नेपालले भने, 'अहंकारी व्यक्ति कहिल्यै माथि पुग्दैन। ज्ञान, बुद्धि, विवेक संयमता भयो भने सफलता हासिल हुन्छ।'

एमाले नेता नेपालले केपी ओलीले जतिसुकै साँठगाँठ गरे पनि राजतन्त्र फर्केर नआउने जिकिर समेत गरे।

चैत १०, २०७७ मंगलबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।