प्रधानमन्त्रीसँग सम्बन्ध सुधार्ने सभामुखको प्रयास ,भेट्न खबर पठाए तर जवाफ आएन
काठमाडौँ : नेकपा विवादसँगै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबिचको सम्बन्ध पनि चिसो भयो। संवैधानिक परिषद्को बैठक बसेर गरेका नियुक्ति विरुद्ध उनी आफैँ रिटकर्ताको रूपमा अदालत पुगेपछि सभामुख भएर प्रतिपक्षीझैँ व्यवहार गरेको भनेर आलोचित पनि भए प्रधानमन्त्रीबाट।
संसद् पुनर्स्थापना भयो। सँगै नेकपा एकीकरण भत्किएर दुवै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्कियो। यो बिचमा सङ्घीय संसद्को बैठक बसिरहेको छ, तर बिजनेस पाउन सकेको छैन। संसद् गएर पनि प्रधानमन्त्री ओली संसद् बैठकमा बसेका छैनन्। यसलाई सभामुखसँगको उनको सम्बन्धमा बढेको चिसोपनाको रूपमा हेरियो।
प्रधानमन्त्रीसँग सभामुख सापकोटाको सम्बन्ध अहिले संवादहीनताको अवस्थामा पुगेको उनैले खुलाए सोमबार।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीसँग भेट्न समय मागेको जानकारी दिए। त्यो पनि उनले सिधै प्रधानमन्त्रीसँग सम्पर्क गरेर भेट्न समय मागेका हैनन्। उनका अनुसार कानुनमन्त्री मार्फत उनले भेटका लागि समय मागेका हुन्। तर अहिलेसम्म खबर भने आएको छैन।
उनले भने‘ ‘प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको छु। खबर आउला।
संसद् पुनर्स्थापना भएपछि फागुन २३ बाट संसद् अधिवेशन सुरु भए पनि सांसदले काम पाउन सकेको छैन। सरकारले अध्यादेशहरू टेबल गराउने प्रयास गरेको थियो। होहल्लाकाविच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश टेबल भए पनि अन्य अध्यादेश टेबल हुन नसक्दा कानुनी अप्ठ्यारो सुरु भएको छ। सरकारका तर्फबाट संसद्मा थप कुनै बिजनेस आएको छैन।
सांसदलाई गति दिनुको साटो प्रधानमन्त्री ओलीले उल्टो राष्ट्रपति निवासमा भएको सर्वदलीय छलफलमा‘संसद् विघटन गरेर निर्वाचनमा जान’ प्रस्ताव गरेका थिए।
चैत ९, २०७७ सोमबार २२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।