कांग्रेस बैठक : सत्ता समीकरणबारे छलफल भयो, निर्णय भएन 

कांग्रेस बैठक : सत्ता समीकरणबारे छलफल भयो, निर्णय भएन 

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल भएको छ। 

ललितपुर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज (सोमबार) बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सत्ता समीकरणबारे छलफल गरेको नेता रमेश लेखकले जनाएका छन्। ‘तर, यसबारे निर्णय भएको छैन,’ उनले भने। 

उनले वैकल्पिक सरकारका लागि कांग्रेस तयार रहेको बताए। ‘परिस्थिति परिपक्व र सुनिश्चित भएको अवस्थामा सरकारको नेतृत्व लिन तयार छौं। अवस्था हेरेर परिपक्व निर्णय लिन्छौं,’ उनले भने। 

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महाधिवेशनअघि पार्टीको क्रियाशील सदस्यताको विषयमा ब्रिफिङ गरिएको उनले जानकारी दिए। 

कांग्रेसले सफ्टवेयरमार्फत क्रियाशील सदस्यता वितरण र नविकरणको मिति भोलिसम्मलाई  तोकेको छ।

नेता लेखकले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य लिइएको भए पनि अहिलेसम्म ६९ जिल्लामा ३ लाख ९२ हजार ७ सय ८४ सदस्यता वितरण भएको जानकारी दिए।

‘लक्ष्यभन्दा इन्ट्री स्लो भएको छ। यसबारे हामीले बैठकमा जानकारी गराएका छौं,’ नेता लेखकले भने। 

चैत ९, २०७७ सोमबार २२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।