शिक्षक सेवा आयोगको पदाधिकारी सिफारिस बदल्न शिक्षामन्त्रीले दबाब दिएको भन्दै कांग्रेसको विरोध 

शिक्षक सेवा आयोगको पदाधिकारी सिफारिस बदल्न शिक्षामन्त्रीले दबाब दिएको भन्दै कांग्रेसको विरोध 

काठमाडौं : शिक्षक सेवा आयोगको पदाधिकारी छनोट समितिलाई सिफारिस परिवर्तन गर्न शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले दबाब दिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। 

कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीले आयोगको पदाधिकारी सिफारिस परिवर्तन गर्न सिफारिस समितिका अध्यक्ष तथा सदस्यहरूलाई दबाब दिएको भन्दै विरोध जनाएको हो। 

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वको तीन सदस्यीय छनोट समितिले गत कात्तिक २२ गते शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यहरूमा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो।

छनोट समितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य छन्। 

‘उक्त सिफारिस रोक्नु निन्दनीय, खेदजनक र अलोकतान्त्रिक कार्य हो। तसर्थ, शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःसर्त टुंगोमा पुर्याई राज्यको शिक्षाप्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ। 

चैत ९, २०७७ सोमबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।