मूल्यवान् पानी नाराका साथ आज विश्व पानी दिवस मनाइँदै

मूल्यवान् पानी नाराका साथ आज विश्व पानी दिवस मनाइँदै

काठमाडौँ : आज विश्वभर पानी दिवस मनाइँदै छ। विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरूलाई सजग, सचेत, सक्षम र सबल बनाउन संयुक्त राष्ट्र सङ्घले सन १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउन थालेको हो।

यस वर्षको पानी दिवसको नारा मूल्यवान् पानी रहेको छ। स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्त्व दर्साउन विश्व खानेपानी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र सङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। 

विश्व पानी दिवसको पूर्व सन्ध्यामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भूगर्भ शास्त्र विभागका सहप्राध्यापक डा. मोतीलाल रिजालले भूगर्भमा रहेको माटो र चट्टानको प्रकृति अनुसार जमिनको पानी सतहमुनि जाने बताए। जलभूगर्भविद् सुरेशराज उप्रेतीले नेपालको भूमिगत जल भण्डारको आकलन गरेर त्यसको नक्सासमेत निस्किएको धेरै भए पनि त्यसलाई अद्यावधिक गर्ने कार्यमा विलम्ब भएको बताए। 

खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले नेपालमा खानेपानीको आपूर्तिका झन्डै आधा अंश भूमिगत पानीबाट आपूर्ति भएकोले यसको पुनर्भरणमा विशेष ध्यान दिन जरुरी भएको बताए। धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले स्थानीय समस्या समाधानमा पालिकाहरूले जिम्मेवारीपूर्वक काम गरेको बताए। 

भूमिगत जलस्रोत विज्ञ प्रतापसिंह तातेडले भूमिगत पानीको संरक्षणको लागि सरकारले भूउपयोग नीतिको सही कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। 

चैत ९, २०७७ सोमबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।