राष्ट्रपति भण्डारी भोलि बंगलादेश भ्रमणमा जाँदै

राष्ट्रपति भण्डारी भोलि बंगलादेश भ्रमणमा जाँदै

काठमाडौं : दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (सोमबार) बंगलादेश जाने भएकी छन्। 

बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बंगलादेश जाने भएकी हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारका उच्च अधिकारी रहने छन्। 
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी राजधानी ढाकामा ‘बंगलादेशका राष्ट्रपिता’

बंगबन्धु शेख मुजिबुर रहमानको १०० औं जन्मजयन्तीमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्मजयन्तीबारे धारणा राख्ने छिन्।  

यस्तै, राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ।

त्यसपछि राष्ट्रपति भण्डारी समकक्षी हमिदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने छिन्। 

भ्रमणका क्रममा राष्ट्रपति साभारस्थित राष्ट्रिय सहिद स्मारक र धन्मोन्दीस्थित बंगबन्धु स्मारक संग्रहालयको अवलोकन गर्ने छिन्। 

यसैगरी, राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली दूतावास भ्रमणसमेत गर्ने कार्यतालिका छ। त्यहाँ उनी नेपाली समुदायसँग भेट गर्ने कार्यसूची रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति भण्डारी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने छिन्। 

चैत ८, २०७७ आइतबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।