मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
सांकेतिक तस्बिर।

काठमाडौं : मनाङमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। 

दुर्घटनामा परी घाइते थप १ जनाको उपचारका क्रममा मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो। 

जिल्ला प्रहरी कार्यालय, मनाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले दुर्घटनामा घाइते भएपछि चितवन मेडिकल कलेजमा उपचाररत मनाङ, नासो गाउँपालिका–१, ताल बस्ने ३ वर्षीय थियोन गुरुङको हिजो राति १०ः३० बजे मृत्यु भएको जानकारी दिए।

उक्त दुर्घटनामा परी घाइते भएकामध्ये दुईजनाको यसअघि नै उपचारका क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मनाङ, चामे गाउँपालिका–४ का २७ वर्षीय राजु बिक र ट्रकका सहचालकसमेत रहेका लमजुङ, मस्र्याङ्दी गाउँपालिका–५, हेलम्बुका २१ वर्षीय लक्ष्मण नेपालीको उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा परी मनाङ, नासो गाउँपालिका–४, ओडारका ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया जलकाशी गुरूङ र ६ वर्षीय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्रक चालकसमेत रहेका तनहुँ, भानु नगरपालिका–३ का सुमन गुरुङसहित दुईजना घाइते छन्। गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी पुरानो भरतपुर मेडिकल कलेजमा कोमामा रहेको डिएसपी खड्काले जानकारी दिए। 

अर्का घाइते मनाङ, नासो गाउँपालिका–४ का ६ वर्षीय मेल गुरुङ छन्। 

लमजुङको बेशीसहरबाट मनाङतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको मालबहाक ट्रक बेशीसहर–चामे सडकको खोत्रोमा हिजो दिउँसो ३ः४० बजे दुर्घटनाग्रस्त भएको थियो। ट्रक सडकबाट ६०–७० मिटर तल मस्र्याङ्दी नदीमा खसेको डिएसपी खड्काले जानकारी दिए। 

चैत ८, २०७७ आइतबार १०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।