हात्तीको आक्रमणबाट चितवनमा महिलाको मृत्यु
काठमाडौं : जंगली हात्तीको आक्रमणबाट चितवनमा महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार आज (आइतबार) बिहान ४ बजे हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–१३, उजेलीनगरकी अन्दाजी ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको हो।
सोही वडामा रहेको आफन्तको घरमा आएकी तिलमायामाथि सुतिरहेको समयमा हात्तीले आक्रमण गरेको उनले जानकारी दिए।
‘आफन्तको घरमा आएकी तिलमायाले हात्ती आएपछि भाग्नुपर्छ भन्ने थाहा पाइनन्। र, हात्तीको आक्रमणमा परिन्,’ डिएसपी थापाले भने।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यो घरका अरु सदस्यले भने भागेर ज्यान जोगाएको डिएसपी थापाले बताए।
यस्तै, हात्तीले सोही स्थानमा तीनवटा घरमा क्षति गरेको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण आइसकेको छैन।
आक्रमण र क्षति पुर्याएपछि हात्ती जंगलतिर भागेको प्रहरीले जनाएको छ।
चैत ८, २०७७ आइतबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।