नेकपा एमालेको संशोधित विधान पारित, खनाल–नेपाल समूहको असन्तुष्टि
काठमाडौं : नेकपा एमालेको संसदीय दलको संशोधित विधान पारित भएको छ।
एमालेको विधान संशोधन कमिटीले राखेको विधान संशोधन प्रस्तावलाई पार्टी संसदीय दलको बैठकले पास गरेको हो।
एमाले संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित गरेको पार्टीको संसदीय दलका मुख्य सचेतक एवं विधान संशोधन कमिटीका संयोजक विशाल भट्टराईले जानकारी दिए।
उक्त निर्णयप्रति झलनाथ खनाल–माधवकुमार नेपाल समूहले भने असन्तुष्टि जनाएको छ।
बैठकमा १० जनाले विधान संशोधनबारे धारणा राखेको मुख्य सचेतक भट्टराईले बताए। उनका अनुसार विधान संशोधनबारे खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला बिक, गोपाल बम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्णभक्त पोखरेलले विधान संशोधनबारे धारणा राखेका थिए।
संशोधित विधान अनुसार अब दलको नेताले सांसदलाई कारबाही गर्ने, संसदीय दलको उपनेता चयन गर्ने अधिकार दिइएको बताइएको छ।
यस्तै, एमाले संसदीय दलकाे बोर्ड २९ सदस्यीय हुने र जसमा एक तिहाइ महिला हुने संशोधित विधानमा उल्लेख रहेको मुख्य सचेतक भट्टराईले जानकारी दिए। यसअघि संसदीय दलकाे बोर्ड २७ सदस्यीय थियो।
यस्तै, बैठकमा पार्टी नेता वामदेव गौतमले राजनीतिक विषयबारे धारणा राखेको मुख्य सचेतक भट्टराईले बताए।
एमालेले गत बिहीबार पाटी संसदीय दलका मुख्य सचेतक भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र डा. विमला पौडेल राई सदस्य रहेको विधान संशोधन कमिटी गठन गरेको थियो।
चैत ७, २०७७ शनिबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।