ओलीलाई पत्र बुझाएर फर्किए खनाल-नेपाल पक्षका सांसद
काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल समूहले विधान अनुसार बैठक नबसेकाले उपस्थित हुन नसकिएको जानकारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ।
खनाल-नेपाल समूहका सांसदको सिंहदरबारमा छुट्टै बैठक बसेर पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा सञ्चालन गर्ने लगायतका ५ बुँदे माग पत्र बुझाएको सांसद यज्ञराज सुनुवारले जानकारी दिए।
पत्र बुझेका प्रधानमन्त्री ओलीले आफ्ना कुरा बैठकमा राख्न आग्रह गरे पनि विधि सम्मत बसेको बैठकमा नै कुरा राख्ने भन्दै आफूहरू बाहिरिएको सुनुवारले बताए।
पत्रमा 'विधान विपरीत संसदीय दलको विधान नबनाई र केन्द्रीय कमिटीको बैठकबाट पारित नै नभए आफूखुसी संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान र कानुन सम्मत छैन' भनिएको छ।
संसदीय दलसम्बन्धी पार्टी विधानको व्यवस्था विपरीत भए गरिएका काम कारवाईमा सहमति जनाउन विधान विपरीत भई लोकतान्त्रिक पद्धतिको समेत उल्लङ्घन हुने पत्रमा लेखिएको छ।
'नेकपा एमालेको संसदीय दलको विधान नभएको र सर्वोच्च अदालतबाट एमाले पुर्नजिवित भएको स्थितिमा संसदीय दलको नयाँ विधान निर्माण गरी नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अनुमोदन गर्नु अनिवार्य हुन्छ,’ ओलीलाई बुझाएको पत्रमा लेखिएको छ, ‘यस्तो कार्यमा जननिर्वाचित नेकपा एमालेको कुनै पनि सदस्यले समर्थन जनाउन वा त्यस्तो कार्य गर्न प्रोत्साहन दिन मिल्दैन।’
खनाल-नेपाल समूहले संसदीय दलको बैठक दलको कार्यालयमा वा संसद् भवनमा राख्न पनि भनेको छ। विधान, विधि, पद्धति, प्रक्रिया र स्थापित अभ्यास अनुरूप आयोजना हुने बैठकमा उपस्थिति भई एमालेलाई संसद्मा एकताबद्ध रूपमा अघि बढाउन कटिबद्ध रहेको विरोध पत्रमा उल्लेख गरिएको छ।
विराध पत्र बुझाउन गएका सांसद सोम प्रसाद पाण्डेयले विद्यमान स्थितिमा उपस्थित हुने परिस्थिति नरहेको जानकारी गराएको बताए।
‘संसदीय दलको बैठक बसिरहेको रहेछ,’ उनले भने,‘पत्र वाचन गरेर सुनाउँछौ भन्दा प्रधानमन्त्रीले पत्र दिनुहोस् र आफ्ना कुरा राख्न भन्नुभयो।’ आफ्ना कुरा यही पत्रमा भएको भन्दै बाहिरिएको सांसद पाण्डेयले बताए।
प्रधानमन्त्रीलाई पत्र बुझाउन सांसद सुनुवार, पाण्डेय र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका थिए। खनाल-नेपाल समूहका सांसदको सिंहदरबारमा बैठक बसेर विरोध पत्र तयार गरेको थियो।
चैत ७, २०७७ शनिबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।