स्पष्टीकरण सोध्ने चेतावनी दिएका ओलीलाई खनाल-नेपालको ५ बुँदे पत्र  

स्पष्टीकरण सोध्ने चेतावनी दिएका ओलीलाई खनाल-नेपालको ५ बुँदे पत्र  

काठमाडौँ : नेकपा एमालेका झलनाथ खनाल र माधव कुमार नेपाल समूहका सांसदले विधान सम्मत बैठक राख्न संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र पठाएको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारको विकास समितिको हलमा बसेको बैठकले विधान अनुसार बैठक राख्न माग गरेर ओलीलाई पत्र बुझाउन लागेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। 

पत्रमा ३८ जना सांसदको हस्ताक्षर रहेको छ। हस्ताक्षर सहितको ५ बुँदे पत्र लिएर सांसद श्रेष्ठसँगै सोम पाण्डे र यज्ञराज सुनुवार बालुवाटार गएका छन्।

पत्रमा विधान सम्मत बैठक राख्न, सर्वोच्च अदालतले दिएको आदेश अनुसार बैठक सञ्चालन गर्न, फागुन २८ को निर्णय फिर्ता लिएर २०७५ जेठ २ गतेको पार्टी संरचनामा बैठक सञ्चालन गर्न माग गरिएको श्रेष्ठले बताए। 

‘सुरुमा संसदीय दलको कार्यालयमा जम्मा भयौ,’ सांसद श्रेष्ठले भने,‘कार्यालयमा ठाउँ नपुगेपछि विकास समितिको हलमा बैठक बस्यौ।’ 

खनाल-नेपाल समूहका सांसदको बैठकमा पार्टी संसदीय दलको बैठक सरकारी निवासमा राख्न नहुने सुझाव आएको सांसद कलिला खातुनले बताइन। ‘बालुवाटार भन्दा बाहिर बैठक राख्नुपर्छ,’ उनले भनिन्,‘धेरैको सुझाव पार्टी संसदीय दलको कार्यालयमै बैठक बस्नु पर्छ भन्ने छ।’

उता बालुवाटारमा बसेको ओली निकट संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई अनुशासनको कारबाही गर्ने धम्की दिएका छन्।

उनले अविश्वासको प्रस्ताव ल्याउन चुनौती पनि दिएका छन्। प्रतिनिधि सभाको हिजो शुक्रवार बसेको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सांसदले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। 

ओलीले स्पष्टीकरण सोध्ने बताइरहँदा खनाल-नेपाल समूहले उल्टै ओलीलाई ५ बुँदे पत्र बुझाएर स्पष्टीकरण मागेको छ। 

चैत ७, २०७७ शनिबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।