गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज
काठमाडौँ : नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदैछ।
स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसन लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दै छन्।
काँग्रेसले कोइरालाको सम्झनामा दिउँसो चितवनमा कार्यक्रम आयोजना गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। त्यसका लागि देउवा बिहान ११ बजेपछि चितवन जाने मुख्य सचिव पौडेलले जानकारी दिए।
कोइरालाको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो। चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन्।
उनकै नेतृत्वमा तत्कालीन विद्रोही नेकपा माओवादीलाई मूलधारको राजनीतिमा ल्याउँदै विस्तृत शान्ति सम्झौता भएको थियो।
कोइरालाकै अगुवाइमा २०६२ ६३ सालको दोस्रो जनआन्दोलन सफल भएको थियो। कोइरालालाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका सूत्रधार मानिन्छ।
चैत ७, २०७७ शनिबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।