एमाले संसदीय दलको बैठक दुइतिर बस्दै, ओलीको बालुवाटारमा, खनाल-नेपालको सिंहदरबारमा
काठमाडौँ : नेकपा एमाले ओली समूहको संसदीय दलको बैठकमा दलको संशोधित विधानको मस्यौदा पेस हुने भएको छ। आज शनिवार बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा दलको संशोधित विधान पेस गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
२०७२ सालको विधान समयानुकूल नभएको भन्दै संशोधन गर्न भट्टराईको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको थियो।
विधानको प्रस्तावना देखि अन्तिमसम्म संशोधन गरेर मस्यौदा तयार भएको भट्टराईले बताए। ‘पुरानो सन्दर्भमा बनेको विधानलाई संशोधन गरेर मस्यौदा तयार गरेका छौँ,’ उनले भने,‘दलको बैठकमा छलफल हुन्छ र आजै बस्ने केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेस हुन्छ।’
संसदीय दलको बैठक लगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बस्ने एमालेले जनाएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठक र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल समूह भने सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म दलको बैठक र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने खनाल-नेपाल समूहको अडान छ।
खनाल नेपाल समूहले बिहान १० बजे सिंहदरबारमा आफ्नो पक्षका सांसदलाई छलफलका लागि बोलाएको छ। अध्यक्ष ओलीले बोलाएको बैठक अगाडि नै खनाल-नेपाल समूहले आफ्नो पक्षका सांसदलाई सिंहदरबारमा बोलाएको हो। ‘बालुवाटार बैठकमा जाँदैनौ,’ सांसद जीवनराम श्रेष्ठले भने,‘माधव नेपालले संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा जान्छौ।'
बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने खनाल-नेपाल समूहले बताएको छ। त्यस्तै केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढङ्गले भेला गरी विधान उल्लङ्घन गरिएकाले उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने खनाल-नेपाल समूहको दावी छ।
चैत ७, २०७७ शनिबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।