लकडाउन अवधिको शुल्क मिनाहाको माग गर्दै इटहरीका चार कलेजमा तालाबन्दी 

लकडाउन अवधिको शुल्क मिनाहाको माग गर्दै इटहरीका चार कलेजमा तालाबन्दी 

इटहरी : लकडाउन अवधिको शुल्क मिनाहाको माग राख्दै आन्दोलनरत विद्यार्थीले इटहरीका चारवटा कलेजमा तालाबन्दी गरेका छन्। 
 

उनीहरूले विश्व आदर्श, कस्तुरी, कोसी र शुष्मा कलेजमा तालाबन्दी गरेका हुन्। 

यसअघि विद्यार्थीको माग सम्बोधनका लागि कलेज सञ्चालक, इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी र विद्यार्थीबीच आज बसेको बैठकमा सहमति जुट्न सकेन। 

विश्व आदर्श कलेजका विद्यार्थी निमा तामाङले लामो समय बित्दासमेत कलेज सञ्चालकले माग सुनुवाइ नगरी झुलाउन खोजेकाले कलेजमा तालाबन्दी गरिएको जानकारी दिए। ‘लकडाउन अवधिको शुल्क मिनाहाबारे लगातार छलफल चले पनि ठोस निश्कर्ष ननिस्किएपछि तालाबन्दी गर्न बाध्य भयौं,’ उनले भने। 

बैठकमा शुल्क मिनाहाबारे कलेज सञ्चालक लचक नभएको उनको भनाइ छ। 

‘हामीले माग चाडो पूरा गर्नुपर्छ भन्यौ। तर, उहाँहरूले केही समयपछि निर्णय गर्ने भनेर झुलाउन खोन्नुभयो,’ उनले भने, ‘हामीलाई यसअघि पनि बारम्बार झुलाएकाले अब निश्कर्ष ननिस्कन्जेल आन्दोलन जारी राख्छौं।’

तर, निजी कलेजको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले विज्ञप्ति जारी गर्दै छलफलमा एक हप्ताभित्र विद्यार्थीका माग सम्बोधन गर्ने सहमति भए पनि विद्यार्थी तोडफोडमा उत्रिएको बताएको छ। 

कलेज सञ्चालकहरूले भने बिहीबार भएको बैठकको निर्णय मात्रै कार्यान्वयन गर्न सकिने बताएका छन्। गत बिहीबारको बैठकमा कलेज सञ्चालक लकडाउन अवधिको भाडा नलिन सहमत भएका थिए। मासिक शुल्क राष्ट्रिय महत्त्वको विषय भएकाले यसबारे केही गर्न नसकिने उनीहरूले जनाएका थिए। 

यसअघि आजै विद्यार्थीहरूले शुल्क मिनाहाको माग गर्दै इटहरीमा तीन घण्टा चक्काजाम गरेका थिए। 

आन्दोलनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लगायत संगठनले ऐक्यबद्धता जनाएका छन्।

चैत ६, २०७७ शुक्रबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।