कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनाललाई पद तथा गोपनीयताको सपथ गराउँदै उच्च अदालत, सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश राजेश्वर तिवारी (दायाँ)।

सुर्खेत : कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

उच्च अदालत, सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश राजेश्वर तिवारीले आज (शुक्रबार) आयोजित नियुक्ति तथा सपथ ग्रहण समारोहमा खनाललाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्। 

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा १६ बमोजिम उच्च अदालत सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश तिवारीले खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। 

समारोहमा कर्णालीका मुख्यमन्त्री शाही, प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दलबहादुर रावल, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा लगायत उपस्थित थिए।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले खनाललाई नियुक्त गरेका हुन्। 

चैत ६, २०७७ शुक्रबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।