लकडाउनको शुल्क मिनाहाको माग गर्दै इटहरीका निजी कलेजका विद्यार्थीद्वारा तीन घण्टा चक्काजाम  

लकडाउनको शुल्क मिनाहाको माग गर्दै इटहरीका निजी कलेजका विद्यार्थीद्वारा तीन घण्टा चक्काजाम  

इटहरी : लकडाउन अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग गर्दै निजी कलेजका विद्यार्थीले इटहरीमा आज (शुक्रबार) तीन घण्टा चक्काजाम गरेका छन्।

इटहरीका कोशी, सुष्मा, विश्व आदर्श र कस्तुरी कलेजका विद्यार्थीले बिहान १०ः३० देखि अपराह्न १ः३० बजेसम्म चक्काजाम गरेको विश्व आदर्श कलेजका निमा तामाङले जानकारी दिए। 

लकडाउन अवधिको शुल्क मिनाहाको माग गर्दै विद्यार्थी गत फागुन २६ गतेदेखि आन्दोलनमा छन्। कस्तुरी कलेजका विद्यार्थीले लकडाउनको शुल्क मिनाहाको माग गर्दै आन्दोलन थालेपछि अन्य तीनवटा कलेजका विद्यार्थीले पनि आन्दोलन थालेका हुन्।  

आन्दोलनका क्रममा विद्यार्थीले शुल्क मिनाहाको माग गर्दै कलेज प्रशासनदेखि उपमहानगरपालिका कार्यालयसमेत घेराउ गरिरहेका छन्। 

मागको सुनुवाइका लागि विद्यार्थी र कलेज प्रशासनबीच तीन पटक छलफल भए पनि निश्कर्षमा पुग्न सकेको छैन। 

लकडाउनको समयमा लिएको शुल्क मिनाहा नभएसम्म आन्दोलन नरोकिने विद्यार्थीले चेतावनी दिएका छन्।

‘पोटेस्ट गरेको दुई हप्ता पूरा हुन लाग्दासमेत हामीलाई कलेज सञ्चालकले झुलाइरहेका छन्। हिसानका नेता–सरहरूले हाम्रो मागलाई जिस्काउनुभएको छ,’ कस्तुरी कलेजका विद्यार्थी रिजन आचार्यले भने, ‘अब हामी शैक्षिक हड्तालको हिसावमा अगाडि बढ्छौं। माग पूरा नभएसम्म हामीलाई कसैले रोक्न सक्दैन।’

इटहरी उपमहानगरपालिकाको सभाहलमा बसेको बैठकमा भने कलेज सञ्चालकले शुल्कबाहेक अन्य माग पूरा गर्न सहमति जनाए। तर, विद्यार्थीले शुल्क नै मुख्य मुद्दा भएको भन्दै सहमति हुन नसक्ने बताएका थिए। 

शुल्कको विषय राष्ट्रिय मुद्दा भएकाले आफूहरूले निर्णय गर्न नसक्ने सञ्चालकको जिकिर छ।

कलेज प्रशासन अभिभावकलाई फोन गरेर टर्चर दिने र शुल्क तिर्न बाध्य बनाउने रणनीतिमा लागेको विद्यार्थीको आरोप छ।

‘हामीले ६ महिना पढेर १२ महिनाको शुल्क तिर्नुपर्ने कुन कानुनमा उल्लेख गरिएको छ,’ तामाङले प्रश्न गरे, ‘कलेजले हामीमाथि गरेको अन्याय र अत्याचार अति भइसक्यो। अझै शुल्क मिनाहा भएन भने हामी आन्दोलन जारी राख्छौं।’

उनकै भनाइमा सहमति जनाउँदै कस्तुरी कलेजकी विद्यार्थी गृष्मा रसाइलीले भनिन्, ‘कलेजले नपढाएको समयको शुल्क मिनाहा गरेन भने अझै आन्दोलन जारी राख्छौं। सरहरूले बाहिर एउटा र भित्र अर्को कुरा गरेको कारण अहिलेसम्म सहमति नभएको हो। अहिले आएर हामीलाई धम्की दिन थाल्नुभएको छ।’

गत आइतबार विज्ञप्तिमार्फत आन्दोलनको औचित्य नभएको बताएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले अब गाडीको शुल्क फिर्ता गर्न सहमत भएको छ। हिसान सुनसरीका सचिव सागर भट्टराईले गाडीको शुल्क फिर्ता गर्न सकिने तर मासिक शुल्क मिनाहा नहुने बताए। 

आन्दोलनमा विद्यार्थी संगठनका नेताहरू खुलेर बोल्न सकेका छैनन्। मौन समर्थन रहेको जनाउने नेताहरू अहिलेसम्म आन्दोलनमा सहभागी भएका देखिँदैनन्। 

चैत ६, २०७७ शुक्रबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।