नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा पक्राउ
सुर्खेत : नक्कली परिचयपत्र बनाएर रकम ठगी गरेको आरोपमा सुर्खेतमा एकजना पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका, हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए। यो नाम गरेको गाउँपालिका नेपालमै छैन।
‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको उजुरीका आधारमा बुढालाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक शाहीले भने, ‘महानगरीय अपराध महाशाखा, काठमाडौंमा जाहेरी परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ।’
प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए।
नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा, काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो।
बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स, सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको प्रहरीले जनाएकाे छ।
चैत ६, २०७७ शुक्रबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।