समस्या समाधान गर्न अर्को दरबार नखोजौँ : पम्फा भुसाल 

समस्या समाधान गर्न अर्को दरबार नखोजौँ : पम्फा भुसाल 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीलाई तानाशाह बनाउन प्रधानमन्त्री नबनाएको बताएको छ। प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधान र राजनीतिक प्रणाली समाप्त पार्ने काम गरेको बताइन्। 

उनले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले राज्यको स्रोत साधन दुरुपयोग गरेर देशभर नौटङ्की सभा गरेको आरोप लगाइन्। ‘गणतन्त्र, लोकतन्त्र, समावेशी सिद्धान्त र धर्म निरपेक्षतालाई अन्तरमनले स्वीकार गरेको भन्ने लागेको थियो,’ उनले भनिन् ‘गणतन्त्र भनेको बयल गाडा चढेर अमेरिका जाने जस्तै हो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर त्यस्तै व्यवहार देखाए।’

उनले राजनीतिक समस्याको समाधान खोल्न अर्को दरबार नखोज्न आग्रह गरिन्। संसदबाटै राजनीतिक समस्याको समाधान खोज्नु पर्ने भन्दै उनले समस्या समाधान गर्ने निहुँमा अर्को दरबार नखोज्न आग्रह गरिन्।

उनले वर्तमान सरकारले दलाल पुँजीपतिका निम्ति कार्यक्रम ल्याइरहेको आरोप पनि लगाइन्। वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारसँग उनले माग गरिन्। 

चैत ६, २०७७ शुक्रबार १४:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।