कांग्रेसले संसदबाटै प्रधानमन्त्रीको राजीनामा माग्यो

कांग्रेसले संसदबाटै प्रधानमन्त्रीको राजीनामा माग्यो

काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन्। 

‘सर्वोच्च अदालतले सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेकाले नैतिकताका आधारमा सरकारले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन?,’ उनले भने, ‘यस विषयमा सदन गम्भीर बनोस्।’ 

उनले संविधानको किताबमाथि हात राखेर वास्तविकता स्वीकार गर्न सरकारलाई आग्रह गरेका थिए। सरकारले भूमिगत शैलीमा संसद् विघटन गरेको उनको तर्क छ। सरकारले विवादित विधेयक ल्याएर जनताको मुख थुन्ने प्रयास गरेको समेत उनले दावी गरे।  

खाँडले सरकारले ऋण लिएर घिउ खाने काम गरेको बताए। अहिलेसम्मकै धेरै ऋण वर्तमान सरकारले लिएको भन्दै उनले तिर्नै नसक्ने ऋण लिएर सरकार घिउ खाएर बसेको आरोप लगाए। उनले वर्तमान आर्थिक अवस्थाका बारेमा श्वेतपत्र ल्याउन अर्थमन्त्रीलाई आग्रह पनि गरे। ‘ऋण लिएर घिउ खाऊँ,’ उनले भने, ‘तिर्ने बेला अरू आइहाल्छन् नि भन्ने ठानेको होला।’ 

चैत ६, २०७७ शुक्रबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।