खुसियालीमा लड्डु खाँदैनौ, दु:खमा झोक्राउँदैनौं : मन्त्री ज्ञवाली 

खुसियालीमा लड्डु खाँदैनौ, दु:खमा झोक्राउँदैनौं : मन्त्री ज्ञवाली 

काठमाडौँ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सदनबाटै राजनीतिक स्थिरता कायम गर्न सरकार सहयोगी रहने बताएका छन्।


सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल खण्डित हुँदैन भन्ने फैसलाको सम्मान गर्दै सरकार र आफ्नो दल राजनीतिक स्थिरता कायम गर्न सहयोगी हुने उनले बताए। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्ञवालीले सदन नचलेको अवस्थामा सरकारले ल्याएका अध्यादेश टेबल गर्न नदिएको बताए। सर्वोच्च अदालतले सदन भित्रैबाट समस्या समाधान गर्न दिएको फैसला अहिलेको व्यवहार कतिको मेल खान्छ भनेर प्रश्न पनि मन्त्री ज्ञवालीले गरे। 

सरकार सर्वोच्च अदालतको दुवै फैसलाबाट हारेको बताउँदै उनले खुसियालीमा लड्डु खाने र दु:खमा झोक्राउने नगरेको बताए। सरकारले दुवै फैसलाको सम्मान गरेको उनको भनाइ छ। फागुन २३ गतेको फैसलाले पार्टी एकतामा अल्पबिराम लागेको उनले बताए। ‘मिलेर जाने ठाउँ छ,’ उनले भने, ‘अहिले पुरानै ठाउँमा फर्केका छौं।’

पार्टी एकीकरणका विषयमा उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई बेघरबार बनाउने प्रयास भएको बताए। उनले संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणबारे पनि सदनलाई जानकारी गराएका छन्।

चैत ६, २०७७ शुक्रबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।