संविधान रक्षा गर्ने जिम्मा काँग्रेसको काँधमा : काँग्रेस नेतृ कोइराला
बुटवल : नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिस्टहरूले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको दाबी गरेकी छिन्।
काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसमा बिहीबार बुटवलमा आयोजित बिचार गोष्ठीमा बोल्दै उनले मुलुकले भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताइन्।
कोइरालाले काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक सङ्कट निम्तिएको उल्लेख गरिन्।
नेतृ कोइरालाले कम्युनिस्टहरूको सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध काँग्रेस भित्र पनि सहमति र एकता आवश्यक रहेको बताइन्। मुलुकलाई सही दिशा दिन अन्तर्राष्ट्रिय शक्तिहरूको पछि नलागी उनीहरूलाई आफ्नो बाटोमा हिँडाउन राजनीतिक दलहरू सक्षम हुनुपर्ने नेतृ कोइरालाले बताइन।
व्यक्तिवादी चरित्र हाबी हुँदा नेपाली काँग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाई जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाई आग्रह गरिन।
जी.पी.कोइराला फाउन्डेसन रुपन्देहीको आयोजनामा भएको बिचार गोष्ठीमा काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी, प्रदेश सांसद रमा अर्याल लगायतले सम्बोधन गरेका थिए।
चैत ५, २०७७ बिहीबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।