काँग्रेस महामन्त्री शशाङ्कको दाबी : एक हप्ताभित्र अविश्वास प्रस्ताव, काँग्रेसको नेतृत्वमा सरकार

काँग्रेस महामन्त्री शशाङ्कको दाबी : एक हप्ताभित्र अविश्वास प्रस्ताव, काँग्रेसको नेतृत्वमा सरकार

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता दिन माओवादी केन्द्रले अलमल गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

सर्वोच्च अदालतको परमादेशको आधारमा नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा फर्किएपछि एमालेमा तीव्र मतभेद बढिरहेको छ भने माधव नेपाल र झलनाथ खनाल समूहले आफू निकटहरूको राष्ट्रिय भेला नै आयोजना गरे।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले डाँकेको सर्वदलीय छलफलमै संसद् विघटनको चेतावनी दिइरहेको बेला काँग्रेस महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने अर्थ पूर्ण दाबी गरे।

उनले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक साताभित्रै अविश्वासको प्रस्ताव लैजाने घोषणा समेत गरे। उनले यसका लागि विपक्षमा रहेका दलहरूबिच सरकारको बारेमा चलिरहेको छलफल सकारात्मक रहेको समेत दाबी गरे। 

उनले भने‘एक हप्ताभित्रमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौँ।’

उनले अब प्रधानमन्त्री केपी ओलीसँग राजनीतिक सहकार्यको सम्भावनै नरहेको समेत दाबी गरे। उनले राजनीतिक निकास दिन काँग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरेको समेत दाबी गरे।

सम्भव होला ?

नयाँ सरकार गठनबारे माओवादी केन्द्र र जसपासँग संवाद गरिरहे पनि काँग्रेसका जिम्मेवार पदाधिकारीबाट नयाँ सरकार गठनबारे सार्वजनिक रूपमा अभिव्यक्ति आएको थिएन। काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रमहरूमा राजनीतिक निकासका लागि काँग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै आएका छन्। तर अविश्वास प्रस्तावबारे उनले केही बोलेका छैनन्।

काङ्ग्रेसभित्र रामचन्द्र पौडेल पक्षका भने सरकारमा जाने विषयमा सहमत छैनन्। उनीहरूले तत्काल सरकारमा जाँदा पार्टीलाई घाटा हुने दाबी गर्दै आएका छन्। काङ्ग्रेसभित्र सरकारको नेतृत्व नै गर्ने या बाहिर बसेर अन्य कुनै दललाई समर्थन गर्ने भन्ने बहस पनि जारी नै रहेको बेला एकाएक महामन्त्री कोइरालाले सरकारको नेतृत्व नै गर्ने सार्वजनिक अभिव्यक्ति दिनुले विपक्षमा रहेका तीन दलबिच जारी संवाद निष्कर्ष निकट पुगेको देखिएको छ।

चैत ५, २०७७ बिहीबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।