ओली संयोजक रहेको एमाले संसदीय बोर्डमा खनाल र नेपाललाई पनि राखियो

ओली संयोजक रहेको एमाले संसदीय बोर्डमा खनाल र नेपाललाई पनि राखियो

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधन गर्न तीन सदस्यीय कमिटी बनाएको छ। बालुवाटारमा बसेको दलको बैठकले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल रहेको विधान संशोधन कमिटी गठन गर्ने निर्णय गरेको हो।

बैठकले पछि ५ जना सदस्य थप गर्ने गरी २७ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ। बोर्डको संयोजकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली छन् भने बोर्ड बैठकमै सहभागी नभएका माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि राखिएको छ।

बोर्डमा सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, राधा ज्ञवालीसहित २४ जना रहेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध तरिकाले नआउनेलाई निगरानी गरिने तर कारबाही गरिनेबारे भने केही नबताएको भट्टराईले जानकारी दिए।

संसदीय दलको बैठक चैत ७ गते बिहान साढे १० बजे फेरि बस्ने सांसद शान्ति पाख्रिनले बताइन्। बैठकको सुरुमा झन्डै ११५ जना सांसद सहभागी भए पनि बैठक सकिने बेला ३०/३५ जना मात्रै सांसद सहभागी भएको बैठक स्रोतले बताएको छ।

बालुवाटारमा इन्ट्री गरेर फर्किए खनाल-नेपाल समूहका सांसद
नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेकी सांसद कलिला खातुन नाम इन्ट्री गरेर फर्किएकी छन्। खनाल-नेपाल पक्षकी सांसद खातुन बालुवाटार पुगेर नाम इन्ट्री गरिसकेपछि फर्किइन्।

खातुन फर्कनुको कारण माधवकुमार नेपालको निर्देशनमा जीवनराम श्रेष्ठले पठाएको म्यासेज नै थियो। ‘पहिला गए हुन्छ भनेपछि म गएँ,’ उनले उकेरासँग भनिन्, ‘नाम इन्ट्री भइसकेपछि म्यासेज हेर्दा त म माधव कमरेडसँग रिसाएँ पनि।’

उनले माधवकुमार नेपाललाई फोन गरेर गुनासो समेत गरेको बताइन्। ‘म जाने थिइनँ,’ उनले भनिन्, ‘अहिलेसम्म नछोडेको समूह छोडेर बालुवाटार जानु थिएन।’

बालुवाटारमा संसदीय दलको बैठक सुरु नहुँदै एमाले सांसद गङ्गा चौधरी सत्गौवाले हस्ताक्षर गरेर फर्किएको बताइन्। म्यासेज आएको विषयमा उनले केही बताइनन्। ‘गुटको बैठक होइन नि,’ उनले उकेरासँग भनिन्,‘एमालेको सांसद भएपछि संसदीय दलको बैठकमा त जानु पर्यो नि।’

‘अहिले बालुवाटारमा जाने भनेर हिँडेका माननीयहरू बीचबाट कार्यक्रम स्थलमा नै फर्किन कमरेड माधवकुमार नेपालको निर्देशानुसार अनुरोध छ’ भनेर जीवनराम श्रेष्ठको मोबाइलबाट सांसदहरूलाई म्यासेज गएको थियो।

चैत ५, २०७७ बिहीबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।