बालुवाटारमा प्रधानमन्त्री कुर्दै एमाले सांसद
काठमाडौँ : पार्टीका सांसदहरू खनाल-नेपाल समूहले गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गएपछि ११ बजे सुरु हुने भनिएको नेकपा संसदीय दलको बैठक सुरु हुन ढिलाइ भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको संसदीय दलको बैठकमा ५० भन्दा धेरै सांसद पुगेका छन्।
संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन सूर्य चिह्न लिएर चुनाव जितेका सबै सांसदलाई डाकिएको छ। तर खनाल-नेपाल समूहका सांसदहरू संसदीय दलको बैठकमा गएका छैनन्। राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी सांसदहरू बैठकमा नजाने सांसद जीवनराम श्रेष्ठले बताए।
खनाल नेपाल पक्षले सांसदहरूसँग छुट्टै छलफल भने नगरेको श्रेष्ठले जानकारी दिए। ‘सांसदहरू आएर भेलामै बस्नु भएको छ,’ उनले भने,‘छुट्टै छलफल भने भएको छैन।’ नेकपा एमालेका १२१ सांसद छन्।
ओलीले बोलाएको संसदीय दलको बैठकमा कति सांसद सहभागी भए भनेर गणना भएको छैन। ‘यति नै सङ्ख्या भनेर गनेको छैन,’ ओली समूहकी सांसद शान्ति पाख्रिनले भनिन् ‘धेरै नै सांसद सहभागी भइसकेका छौ।’
बैठकमा सञ्चार, शिक्षा, पर्यटन, कानुन, भूमिसुधार मन्त्री सहभागी भइसकेका छन्। नेकपा एमालेमा प्रवेश गरेका माओवादी सांसद भने पुगेका छैनन्। प्रधानमन्त्री बैठक कक्षमा प्रवेश नगरेकाले बैठक सुरु नभएको सहभागी सांसदहरूले बताएका छन्।
बैठकमा खनाल-नेपाल समूह भनेर चिनिएका कलिला खातुन, गङ्गा चौधरी र वामदेव गौतमकी श्रीमती तुलसा थापा पनि सहभागी भएको सांसद पाख्रिनले बताइन्।
चैत ५, २०७७ बिहीबार १२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।