एमाले संसदीय दलको बैठकमा पार्टी विवाद पनि एजेन्डा
काठमाडौँ : नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
बैठकमा सूर्य चिन्हबाट चुनाव जितेका सबै सांसदलाई निम्तो गरिएको भट्टराईले बताए। ‘संसद् चलिरहेका बेला बैठक बस्ने चलन छ,’ उनले उकेरासँग भने,‘पार्टीमा उत्पन्न विवादबारे पनि छलफल हुन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद भने नजाने भएका छन्।
कार्यकर्ता भेलाका कारण बैठकमा जान नसकिने खनाल-नेपाल समूहका सांसद सुरेन्द्र पाण्डेले बताए। ‘अरू कारणले होइन,’ उनले भने,‘कार्यक्रम जुधेकाले नजाने भएका हौ।’ यो समूहले हिजोदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ।
खनाल-नेपाल समूहले बालुवाटारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिस्कार गरेको थियो।
चैत ५, २०७७ बिहीबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।