कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको खनाल–नेपाल पक्षको दावी

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको खनाल–नेपाल पक्षको दावी

काठमाडौं- नेकपा एमाले खनाल–नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारेको छ। नेपाल समूहका नेता एवं कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता नलिएको बताएका छन्।

ज्वालाले विज्ञप्तिमा गुटगत बैठकले गरेका निर्णयहरु मान्य नहुने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘आज मिति २०७७ चैत ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं।'

उनले औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति असहमति भएको जनाएका छन्। 'यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको र कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँछौं।'

एमालेको ओली पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले बिहीबारबाट लागू हुनेगरी माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो।

बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो।

चैत ४, २०७७ बुधबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।