पार्टी विभाजन रोक्न राष्ट्रिय भेला गरिएको खनाल–नेपाल पक्षको निष्कर्ष

पार्टी विभाजन रोक्न राष्ट्रिय भेला गरिएको खनाल–नेपाल पक्षको निष्कर्ष

काठमाडौं- नेकपा एमालेको खनाल–नेपाल पक्षले भेलाले पार्टी एकता नै खतरामा पर्ने अवस्था आएपछि एकता र कम्युनिष्ट आन्दोलनको भविष्यको रक्षा गर्न राष्ट्रिय भेलाको आयोजना गर्नुपरेको निष्कर्ष निकालेको छ।

एमालेको आजको राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत अवधारणा–पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनको सानो गुटले पार्टीलाई विभाजन गर्ने दुस्साहस गरिरहेकोले त्यसलाई रोक्नको लागि भेला गर्न बाध्य भएको दावी गरिएको छ।

अवधारणा पत्रमा भनिएको छ, ‘मैले बस्न नपाए कुुर्सी नै भाँचिदिन्छुु भन्ने जस्ता अभिव्यक्तिले अध्यक्षको विचारधारा, सिद्धान्त र राजनीतिलाई दर्शाउँछ। ती महत्वाकांक्षाका लागि नै उहाँ पार्टी विभाजन गर्न सुनियोजित रुपमा अघि बढ्नुभएको छ।’

मुलुकको सामाजिक रुपान्तरण, राष्ट्रिय एकता र स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि पनि तदनुकुल कार्यभार निर्धारण गर्न यो भेला हुर्नैपर्ने जिकिर अवधारणापत्रमा गरिएको छ।

पार्टीको कार्यभार आफ्नो काँधमा आएको उल्लेख गर्दै एमालेको खनाल–नेपाल पक्षले त्यही कार्यभार पूरा गर्न पार्टीको जीवनलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने पनि बताएको छ। पार्टीको काममा सक्रियतापूर्वक खटिन पनि सो समूहले सबै कार्यकर्तालाई आग्रह गरेको छ।

चैत ४, २०७७ बुधबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।