एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले बिहीबारबाट लागू हुनेगरी माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।

‘भोलिबाट लागू हुने गरी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, तीन जना मन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ,’ नेता कँडेलले भने, ‘बैठकमा अनुपस्थित सांसदलाई पनि के कति कारण नआएको भनी स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ।’

१९ जना सांसदमध्ये बैठकमा १० जना मात्र सहभागी भएका थिए। ९ जना सांसदलाई भने उपस्थित हुन नसक्नुको कारणसहित स्पष्टीकरण सोधिने निर्णय पनि बैठकले गरेको छ। एमालेका एक नेताका अनुसार माधव समुहका सांसदहरु अनुपस्थित रहेका हुन्।

आज बसेको संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्मा खड्का थिए।

चैत ४, २०७७ बुधबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।