एमाले केन्द्रीय कमिटी हेरफेर र मनोनयन : निर्वाचन आयोगलाई जानकारी छैन

एमाले केन्द्रीय कमिटी हेरफेर र मनोनयन : निर्वाचन आयोगलाई जानकारी छैन

काठमाडौं : गत २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी हेरफेर र मनोनयन गरे। अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल लगायतलाई सहभागी नगराई बालुवाटारमा पार्टीको विशेष बैठक राखेर केन्द्रीय कमिटीमा हेरफेर र मनोनयन गरेका थिए।

पार्टीको केन्द्रीय कमिटीमा अध्यक्ष, महासचिव र सदस्यहरु मात्र रहने गरी गरिएको हेरफेर र नयाँ सदस्य मनोनयनका विषयमा उनले अहलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन्।

ओलीले पार्टी महाधिवेशनको मिति घोषणा गर्नुका साथै माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए। ओलीले गरेको यो निर्णय पार्टीमा कार्यान्वयन हुन निर्वाचन आयोगमा अद्यावधिक हुनुपर्छ। तर आजसम्म निर्णय अद्यावधिक गर्न आयोगमा निवेदन नआएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

पार्टी अध्यक्ष ओलीले गरेको निर्णय आयोगमा पुग्नुअघि नै खनाल-नेपाल पक्षले चैत १ गते निर्णय अद्यावधिक नगर्न आयोगमा निवेदन दिएका छन्। उनीहरू नेकपा एमाले २०७५ जेठ ३ गते अगाडिकै संरचनामा रहेको निवेदन आयोगमा दिएका हुन्।

आयोगका प्रवक्ता श्रेष्ठले खनाल-नेपाल पक्षको मात्रै निवेदन आएको र यस बिषयमा कुनै निर्णय नभएको जानकारी दिए।

सर्वोच्च अदालतको परमादेशपछि ब्युँतिएको नेकपा एमालेमा दुई समूह छन्। खनाल-नेपाल पक्षले भोलि चैत ४ र ५ गते दुई दिने राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन्। पार्टी अध्यक्ष ओलीले खनाल-नेपाल पक्षसँग वार्ता गरे पनि निर्णय फिर्ता भएको छैन भने कार्यकर्ता भेला पनि रोकिएको छैन।

खनाल-नेपाल पक्षले भेला नरोकेपछि ओली पक्षले विवाद समाधान हुने सम्भावना नरहेको बताउँदै आएको छ। ओली पक्षका नेता सुभाषचन्द्र नेम्वाङ माओवादीसँग उठबस गरेर आउनेहरूसँग सहमतिको सङ्केत नदेखिएको बताउँछन्। उनले आवश्यकता अनुसार फागुन २८ गतेको निर्णय निर्वाचन आयोगमा जानकारी गराउने बताए।

‘अहिले कुनै टुङ्गो छैन,’ नेम्वाङले उकेरासँग भने, ‘आवश्यकता अनुसार निर्णय अद्यावधिक गराउन सकिन्छ।’ हिजोको वार्तापछि छुट्टिने बेलामा टर्रो कुरा भयो भनेको खनाल-नेपाल पक्ष ओलीले बालुवाटारमा आज राखेको चियापान तथा भेटघाट कार्यक्रममा गएन।

ओलीले बालुवाटारमा राखेको चियापान तथा भेटघाट कार्यक्रममा नगएको खनाल-नेपाल कार्यकर्ता भेलामा व्यस्त भएको छ।

चैत ३, २०७७ मंगलबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।