शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ : प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले प्रतिनिधिसभा नियमावली १० को उपनियम (१) बमोजिम सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गरेका छन्।
सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सदस्यहरूको नाम मनोनयन गरेका हुन्।
सदस्यहरूमा डिला संग्रोला पन्त, मानव बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोम प्रसाद पाण्डेको नाम मनोनयन गरिएको छ।
यस्तै आजको बैठकमा सभामुख अग्नि सापकोटाले तत्कालीन समाजवादी पार्टीको तर्फबाट समानुपातिक सदस्य सरिता गिरी संसद् सदस्यबाट मुक्त भएको जानकारी गराए।
समाजवादी पार्टीले गिरीले दलले जारी गरेको निर्देशन उल्लङ्घन गरेकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ५ बमोजिम पद मुक्त गर्न असार २४ गते सङ्घीय संसद् सचिवालयमा पत्र दिएको थियो।
यस्तै प्रतिनिधिसभा सदस्यमा सुवर्ण जुहारचन, लिला देवी सिटौला र मोहन प्रसाद पाण्डेलाई सभामुख सापकोटाले नव आगन्तुक सदस्यको रूपमा स्वागत गरे।
यस्तै बैठकले संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ। २०७० सालको निर्वाचनमा बाँके क्षेत्र नं २ बाट निर्वाचित सदस्य एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको ७५ वर्षको उमेरमा माघ १ गते निधन भएको थियो।
चैत ३, २०७७ मंगलबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।