ओलीले राखेको चियापान तथा भेटघाट कार्यक्रममा खनाल-नेपाल नजाने
काठमाडौँ : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बालुवाटारमा चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखेका छन्। चियापानमा पार्टी केन्द्रीय कमिटीका सबै सदस्यलाई निमन्त्रणा गरिए पनि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरू भने सहभागी नहुने भएका छन्।
ओली समूहले एकपक्षीय बैठक गरेर केन्द्रीय सदस्यहरू थप तथा जिम्मेवारी हेरफेरको निर्णय गरेपछि असन्तुष्ट खनाल-नेपाल पक्षीय नेताहरू चियापान कार्यक्रममा नजाने भएका हुन्।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा हिजो ओली र खनाल-नेपाल पक्षबिच वार्ता भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको छैन।
खनाल-नेपाल समूहले भोलि चैत ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। भेलाबारे जानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने एमाले खनाल-नेपाल पक्षीय प्रचार विभागले जनाएको छ।
चैत ३, २०७७ मंगलबार ०८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।