राष्ट्रपति भण्डारीले दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएकी छिन्। कोरोनाका कारण लामो समय दलहरूसँग छलफल हुन नपाएको भन्दै राष्ट्रपति भण्डारीले देशको पछिल्लो राजनीतिबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई आज दिउँसो ४ बजे बोलाइएको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूलाई बोलाइएको छ। दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बताए।
राष्ट्रपति भण्डारीले दलहरूबिच बढेको अविश्वास र सत्ता समीकरणका लागि भइरहेका छलफलबारे चासो राखेर सर्वदलीय बैठक बोलाएकी हुन्। ‘सर्वदलीय भन्दा पनि अन्तरक्रिया या छलफल हुन्छ,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने,‘कोरोनाका कारण लामो समय छलफल नभएकाले बोलाउनु भएको हो।’
चैत ३, २०७७ मंगलबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।