प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर सकिने 

प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर  सकिने 

काठमाडौँ : प्रतिनिधि सभाको आज दिउँसो बस्ने बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ। सम्भावित कार्यसूचीमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने राखिएको छ। 

यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजे बस्दैछ। 

२०७० सालको निर्वाचनमा बाँके क्षेत्र नं २ बाट निर्वाचित सदस्य एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवको ७५ वर्षको उमेरमा माघ १ गते निधन भएको थियो। 

सरकारले ल्याएका अध्यादेश भने आजको प्रतिनिधिसभा बैठकमा पेस नहुने भएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा अध्यादेश पेस नगर्न सरकारले सहमति जनाएपछि  अध्यादेश पेस नहुने भएको हो। 

फागुन २३ गते बसेको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै टेबल भएको थियो। सरकारले परिषद्सँगै नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश ल्याएको थियो।

यस्तै औषधी (तेस्रो संशोधन) अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यादेश ल्याएको थियो। 

चैत ३, २०७७ मंगलबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।