उकेरा टप फाइभ : उपभोग्य वस्तु महँगिएको कथादेखि ‘तेल माइला’को व्यथासम्म
काठमाडौं : सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच आज भेटवार्ता भयो।
भेटका क्रममा नेपाल समूहले गत फागुन २८ गते ओली समूहले गरेको निर्णय फिर्ता लिन आग्रह गरे। तर, ओली समूहले त्यो प्रस्ताव मानेनन्।
आजै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही समय चलेर स्थगित गरियो।
नयाँ सरकार गठनबारे वार्ता, संसद् बैठकलगायत कारण देखाउँदै बैठक स्थगित गरियो। यो कुरालाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि पनि गरे।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्यो।
आजका मुख्य घटना थिए यी। यसबाहेक उकेराले पाँच फरक सामग्री पनि प्रस्तुत गर्याे।
उकेराका टप फाइभ
उकेराले आज बिहानै दैनिक उपभोग्य वस्तु महँगिएको समाचार प्रस्तुत गर्याे।

दैनिक उपभोग्य वस्तुमा होस् वा सेवामा, कुनै न कुनै रुपमा उपभोक्ता ठगिएकै छन्। नेपाली बजारमा औषधि, पानी, तेल, दूध, तरकारी, फलफूल लगायतका खाद्य सामग्रीमा एकातिर मिसावट हुन्छ भने अर्कातिर कालोबजारी।
दैनिक उपभोग्य वस्तुमा ठगी तथा कालोबजारी बढ्दै जाँदा आम उपभोक्ता मारमा परेका छन्। उनीहरु चर्को मूल्य तिरेर दैनिक गुजारा गर्न बाध्य छन्। तर उपभोक्तामाथिको ज्यादतीमा सरकारले भने नियमन गर्न सकिरहेको छैन।
दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, उपभोक्तामाथिको ज्यादतीमा सरकारको मौन स्वीकृति
त्यसपछि उकेराले श्रीमतीले छाडेका ‘तेल माइला’को संघर्षको कथाव्यथा प्रस्तुत गर्याे।

भक्तपुरका प्रेमकृष्ण राजबाहक १३ वर्षको कलिलो उमेरमै रोजगारीका लागि कास्की, चिप्लेढुंगा पुगे। चिउरा भुटेर ४ छोरा, १ छोरी सहित ७ जनाको परिवार पाल्नुपर्ने बाबु-आमाको दुःख बुझेर उनले घर छोड्ने निधो गरेका थिए।
नाताले ठूलोबुबा पर्ने गाउँका एक व्यक्तिले उनलाई महिनाको १६० रुपैयाँको जागिर मिलाई दिए, होटलमा भाँडा माँझ्ने।
कामकै सिलसिलामा भेट भयो, आफ्नै उमेरका दौंतरी रमेश।
प्रेमकृष्ण र रमेशले पोखरा, चिप्लेढुंगामा धेरै वर्ष सँगै बिताए। ३० विगत वर्षयता भने प्रेमकृष्ण–रमेशको देखभेट भएको छैन।
श्रीमतीले छोडिन्, साथी हराए अनि प्रेमकृष्ण बने ‘तेल माइला’
उकेराले पस्किएको अर्काे समाचार शिक्षामन्त्रीको संरक्षणमा कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयले त्रिविको ११२ रोपनी जग्गा कब्जाबारेको थियो।

कीर्तिपुरमा रहेको लेबोरेटरी माध्यमिक विद्यालयका सार्वजनिक शैक्षिक गुठियारका सदस्य हुन्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ। सो विद्यालयले प्रयोग गर्दै आइरहेको जग्गा भने त्रिभुवन विश्वविद्यालयको हो।
त्रिभुवन विश्वविद्यालयले लेबोरेटरी माध्यमिक विद्यालयलाई आफ्नो जग्गा खाली गरिदिन पटकपटक आग्रह गर्दै पत्र लेखिसकेको छ। तर जग्गा खाली गर्नु त परको कुरा, उल्टो विद्यालयले जग्गाको लालपुर्जा आफ्नो नाममा गरिदिन मालपोत कार्यालय कलंकीमा पत्र पेस गरेको छ। यतिमात्र होइन, विद्यालयले गुठियारमा प्रभावशाली व्यक्तिहरुलाई राखेर त्रिविको ११२ रोपनी जग्गा भोगचलन गरिरहेको छ।
लेबोरेटरी स्कुल जग्गा विवाद : शिक्षा मन्त्रीको संरक्षणमा त्रिविको ११२ रोपनी जग्गा कब्जा
तेजाब र यौन हिंसासम्बन्धी अध्यादेश संकटमा रहेको समाचार उकेराले प्रस्तुत गरेको अर्काे महत्त्वपूर्ण सामग्री थियो।

मङ्गलवार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक शोक प्रस्ताव पेस गर्ने मात्र निर्णय गर्यो। यस अगाडिको बैठकमा अवरोध हुँदा कार्यसूचीमा चढेर पनि पेस हुन नसकेका सात महत्त्वपूर्ण अध्यादेश पेस गर्नेबारे बैठकले निर्णय गर्नै सकेन।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार अध्यादेशबारे कानुनी परामर्श गर्ने राय आएको थियो।
संसद् नभएको अवस्थामा बनेका अध्यादेश संसद् बसेको पहिलो दिन टेबल हुनुपर्ने कानुनी प्रावधान रहे पनि यस अगाडि फागुन २३ गते बसेको पहिलो बैठकमा जुन अध्यादेशको विरोध भइरहेको हो त्यसलाई चलाखीका साथ टेबल गरियो।
तेजाब र यौन हिंसासम्बन्धी अध्यादेश संकटमा,न्याय परिषद्सम्बन्धी विवादित अध्यादेशको बाटो खुल्यो
उकेराले प्रस्तुत गरेको पाँचौं महत्त्वपूर्ण सामग्री भने समसामयिक राजनीतिक घटनाक्रमबारे थियो। समाचारमा नेकपा एमालेबाहेकको सरकार बन्ला भन्नेबारे विश्लेषण गरिएको छ।

सत्ताको खेलमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिस्ट पार्टी विघटन भए पनि अझै प्रधानमन्त्री केपी ओलीले आफ्नो पदलाई सुरक्षित बनाउन सकेका छैनन्।
एमालेको एक्लै बहुमत पुग्दैन। तत्काल माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले गणितीय हिसाबले सरकार बहुमतमै छ। तर माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको टेको जुनसुकै बेला झिक्न सक्छ।
त्यही जोखिम देखेर ओलीले जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन तीव्र पहल गरिरहे पनि त्यसले निश्चित आकार भने लिन सकेको छैन।
नेकपाको नाममा सुरु भएको विवाद र विभाजन अहिले एमालेमा सरेको छ। उता नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउने प्रयास जारी छ।
चैत २, २०७७ सोमबार २३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।