कार्यव्यवस्था परामर्श समिति बैठक सकियो, प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सहमति  

कार्यव्यवस्था परामर्श समिति बैठक सकियो, प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सहमति  

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा सम्पन्न बैठकले भोलिको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीमा सहमति जुटेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

बैठकमा अध्यादेशबारे कानुनी परामर्श गर्ने राय आएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटासहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, नेकपा एमालेका प्रमुख सचेतक भट्टराई, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायत सहभागी थिए। 

सभामुख सापकोटाको आह्वानमा आज अपरान्ह २ बजे बोलाइएको बैठक करिब तीन घण्टा ढिलो सुरु भएको थियो। 

प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक बसेर कनुपर्ने प्रावधान छ। तर, यसअघि परामर्शको समितिको बैठक नबसी प्रतिनिधिसभा बैठक बसेको थियो। 

यसअघि पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते र दोस्रो बैठक फागुन २६ गते बसेको थियो। 

चैत २, २०७७ सोमबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।