म्यानमारमा सुरक्षा फौजले गोली चलाउँदा ३८ प्रदर्शनकारीको मृत्यु
काठमाडौँ : म्यानमारमा आइतबार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य सहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएको जनाएको छ।
देशका विभिन्न भागमा भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा अरू १७ जनाको मृत्यु भएको म्यानमारका अभियानकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो।
चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीको शङ्का छ। बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ।
चिनियाँ दूतावासले आफ्नो फेसबुक पेजमा केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको जनाएको छ।
फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यानमारमा प्रदर्शनहरू भइरहेका छन्।
चैत २, २०७७ सोमबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।