रेसम चौधरीलाई जेलबाट छुटाउन प्रधानमन्त्री सकारात्मक !
काठमाडौं : सत्ता साझेदारीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार गएको जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले वार्ता सकारात्मक भएको दाबी गरेका छन्।
नेकपा एमालेसँग सत्ता साझेदारी गर्न तीन सर्त बोकेको जसपालाई प्रधानमन्त्री ओलीले सबै सर्त पूरा गर्ने आश्वासन दिएको नेता कर्णले बताए। जसपाले कारागारमा रहेका आफ्ना नेता रेसम चौधरीको मुद्दा फिर्तालाई प्रमुख बनाउँदै आएको छ।
रेसम टीकापुर हत्याकाण्डमा जिल्ला अदालत, कैलालीबाट जन्मकैद पाएर कारागारमा छन्। उनीविरुद्धको जिल्ला अदालतको फैसलालाई उच्च अदालत, दिपायलले समेत सदर गरिसकेको छ।
दिपायलको सदरविरुद्ध सर्वाेच्च अदालतमा परेको पुनरावेदन विचाराधीन अवस्थामा छ।
नेता कर्णका अनुसार अन्य दुई मागमा संविधान संशोधन र मधेस–थरुहट आन्दोलनको मुद्दा सम्बोधन हुन्। यी दुवै मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक रहेको उनले जानकारी दिए।
वालुवाटारमा भएको वार्तामा सरकारी टोलीबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पाेखरेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए।

जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी थिए।
एमालेसँग सत्ता साझेदारीको बारेमा जसपामा विवाद छ।
उसले एमालेसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारीबारे वार्ता गर्ने निर्णय गरिसकेको छ।
फागुन २७, २०७७ बिहीबार २१:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।