धुम्वाराहीमा नेकपाको साइन बोर्ड हट्यो, एमाले ब्युँतियो
काठमाडौँ : नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पार्टी ब्युँताउने परमादेश जारी गरेपछि धुम्वाराहीमा नेकपा एमालेको बोर्ड राखिएको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ।
त्यस्तै कार्यालय भित्रको कार्यक्रम र बैठक हलमा पनि सूर्य चिन्ह सहितको एमालेको बोर्ड राखिएको छ। यसअघि एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो।
जिल्ला स्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राख्न थालिएका छन्। २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबिच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको थियो।
निर्वाचन आयोगमा दर्ता भएको नेकपाको नाममा ऋषिराम कट्टले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो राजनीतिक दल भएको भन्दै निर्वाचन आयोगले निर्णय दिएन। त्यस विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए।
फागुन २५, २०७७ मंगलबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।