ओलीलाई प्रचण्डको चेतावनी : राजीनामा नदिए विश्वासको प्रस्ताव,प्रधानमन्त्रीको उम्मेदवार टुङ्गो छैन

ओलीलाई प्रचण्डको चेतावनी : राजीनामा नदिए विश्वासको प्रस्ताव,प्रधानमन्त्रीको उम्मेदवार टुङ्गो छैन

काठमाडौंः सक्ने भए आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिँदै आएका प्रधानमन्त्री केपी ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए आफूहरू अविश्वासको प्रस्तावको बाटो जाने बताए।

नेकपाको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने‘ ओलीले राजीनामा नदिए हामी त्यही बाटो जान्छौँ।’ उनले अबको बाटाहरू सहज बनाउने हो भने राजीनामा दिनु राम्रो हुने उनले बताए।

‘ संसद् पुनर्स्थापना भइसकेको छ। आज बसेको संसदीय दलको बहुमत झन्डै ११५ जनाको हस्ताक्षर सहितको बहुमतले मलाई दलको नेता निर्वाचित गरिसकेपछि ओलीले अविलम्ब राजीनामा दिनु सहज हुन्छ। राजीनामा नदिए सांसदबाटै समाधान खोज्छौँ।’

उता दाहाल–नेपाल समूहको संसदीय दलको बैठक चलिरहँदा ओली भने यता राष्ट्रिय सभा गृहमा नेत्र विक्रम चन्द समूहसँग भएको सहमतिलाई लिखित आकार दिँदै थिए। उनले सम्बोधनमा आफू संसदीय दलको नेता भएको बताउँदै व्यङ्ग्यात्मक शैलीमा दाहाल–नेपाललाई भनेका थिए‘ संसदीय दलको बैठक बसिरहेको छ। कुन पार्टीको हो कुन्नि।’

प्रधानमन्त्रीको उम्मेदवार टुङ्गो छैन

ओलीले आफ्नै दलको प्रधानमन्त्री हुँदाहुँदै दाहाल–नेपाल समूह अरूलाई प्रधानमन्त्री बनिदेऊ भनेर याचना गर्दै हिँडेको भन्दै आलोचना गर्दै आएका छन्। शुक्रवार सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले ओलीले राजीनामा दिएमा वा अविश्वास प्रस्तावबाट हटाएमा प्रधानमन्त्रीको उम्मेदवार चैँ को हुने भन्ने खुलाउन सकेनन्।

उनले प्रधानमन्त्रीको उम्मेदवारको विषयमा छलफलमै रहेको मात्र बताए। उनले हिजो संसद् विघटनको विपक्षमा उभिएका राजनीतिक दलहरूबिच सहकार्य हुने मात्र बताए। उनले प्रधानमन्त्रीबारे एक–दुई दिनमा टुङ्गो लाग्ने समेत बताए। 

फागुन २१, २०७७ शुक्रबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।